गुल्मीमा पहिरोमा पुरिएर दुई बालकको मृत्यु, एकको अवस्था अज्ञात

असार १९, २०७७ | गुल्मी

गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर २ बालबालिकाको मृत्यु भएको छ । ४ जना घाइते छन् । तीमध्ये दुई जनाको अवस्था गम्भिर छ । मुसिकोट नगरपालिकामा एक जना बेपत्ता छन् ।

इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा खसेको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने सिजनको मृत्यु भएको छ । त्यस्तै ७ बर्षीया अपेक्षा खत्रीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारनाथ पन्तले जानकारी दिनुभयो । अपेक्षाकी आमा इश्वरा खत्रीको अवस्था गम्भिर छ । अपेक्षाका हजुरबुबा र हजुरआमा पनि घाइते छन् । यस्तै मृतक १८ महिने बालक सिजनकी आमा सिर्जना पनि अचेत छन् ।

पहिरोमा परिएका मुसिकोट नगरपालिका वडा नं. २ का ५५ वर्षिय भागिरथ घिमिरेको अवस्था भने अझै अज्ञात छ । उनी सुतेको घर नै पहिरोले बगाएको थियो । संगै सुतेका उनका दुई जना साथी भागेर ज्यान जोगाउन सफल भएका थिए ।

पहिरोले मुसिकोट नगरपालिकाका विभिन्न वडामा १४ घरमा क्षती पुगेको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताउनु भयो । यस्तै इश्मा गाउँपालिकामा पनि कम्तिमा २० घर परिवार विस्थापित भएको अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिनुभयो । 


प्रतिक्रिया