वीरगन्जको समुदायमै कोरोना !

श्रावण ८, २०७७ | वीरगन्ज

वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थाई कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

गएराती गरिएको परीक्षणमा उनीसहित पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भएको आशंकामा अस्ती मंगलबार नारायणी अस्थाई कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषको सोही दिन साँझ मृत्यु भएको अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहले जानकारी दिनुभयो ।

१७ जना संक्रमित मध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् । सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये कोही पनि क्वारेन्टाइन सेन्टरमा बसेका हैनन् । 

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार संक्रमित १७ जना मध्ये ९ जनाले आफै पैसा तिरेर परीक्षण गराएका र चिकित्सक सिफारिसमा परीक्षणका लागि गएका थिए । अन्य ५ जना अस्पतालमै उपचाररत छन् । चिकित्सकका अनुसार उनीहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा गएका हुन् ।

पेड टेस्ट सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । स्वेच्छाले परीक्षणका गराएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका व्यक्ति छन् । डा. निरज सिंह वीरगन्जमा कोभिड १९ को समुदायमा फैलिन सुरु भइसकेको बताउँछन् । 

संक्रमितमा गम्भीर प्रकृत्तिको निमोनियाको लक्षण समेत दखिन थालेको भन्दै उहाँले कन्टयाक्ट ट्रेसिङ र टेस्टीङ तीव्र बनाउन आवश्यक रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार ‘ट्राभेल हिस्ट्री’ विनाका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकाले निकै गम्भीर बन्नुपर्ने आवस्था सृजना भएको छ । 


प्रतिक्रिया