वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी

श्रावण १०, २०७७ | पर्सा

पछिल्लो समयमा लक्षण सहितको कोरोना संक्रमण पर्सामा व्यापक बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमण समुदायस्तरमा फैलनसक्ने भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको हो । 

पछिल्लो १० दिनको अवधिमा मात्रै पर्सामा ५ भारतीय सहित ८३ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ महिला र एक पुरुषको मृत्यु भइसकेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार जिल्लामा कोरोना संक्रमित बढ्दै गएको, पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरु देखापर्न थालेको, संक्रमित केहीको मृत्यु समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था जटिल देखिएकोले संक्रमण थप फैलन नदिन आज विहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो । 

कोभिड १९ संक्रमण रोकथाम एवम् नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशसत्र प्रहरी बलको अतिरिक्त, स्थानीय प्रशासन ऐन अनुसार नेपाली सेनाको समेत सहयोग लिने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो ।  


प्रतिक्रिया