बाढीपहिरोका कारण १२९ स्थानका सडकमा क्षती

श्रावण १४, २०७७ | काठमाडौं

असारयताको बाढी र पहिरोका कारण मुलुकभरका १ सय २९ स्थानका सडकमा क्षती पुगेको छ । सडक विभागका अनुसार असारयताको बाढी र पहिरोमा परी बिभिन्न राजमार्गका ठुलो क्षती पुर्याएको हो । 

क्षतीग्रस्त मध्ये ५७ सडक समान्य मर्मत पछि सञ्चालनमा आएको विभागले जनाएको छ । ४९ सडक एकतर्फी सञ्चालनमा आएका छन् भने २३ स्थानको सडक पूर्ण रुपमा अबरुद्ध भएको विभागको तथ्यङकमा उल्लेख छ । पहिरोका कारण यो बर्ष सबैभन्दा ठुलो क्षती अरनिको राजमार्गले ब्योहोरेको छ । 

सो राजमार्गका बिभिन्न १५ स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । ती मध्ये १४ स्थानमा एकतर्फी यतायत सञ्चालनमा रहेका छन् । एक स्थानमा भने अवरोध जारी नै रहेको विभागले जनाएको छ ।

त्यसबाहेक सिद्धार्थ राजमार्ग, बेसिशहर–चामे सडक, पृथ्वी राजमार्ग, साफे बगर मार्तडी सडक, बेनी जोमसोम सडक, अरनिको राजमार्ग, बिपि राजमार्ग, कोशी राजमार्ग, सिद्धिचरण राजमार्ग, कान्ती लोकपथ, महेन्द्र राजमार्ग लगायतका राजमार्गका बिभिन्न स्थानमा बाढी र पहिरोले सडकमा क्षती पुर्याएको छ ।

सडकमा भएको क्षतीको थप विवरण संकलन भईरहेको विभागले जनाएको छ । सडक भासिएर क्षती पुगेका स्थानमा तत्काल मर्मत सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरेर एकतर्फी यातायत सञ्चालन गरिएको छ । 

बाढी र पहिरोले बगाएको तथा ठुला पहिरो खसेर अबरुद्ध भएका सडकलाई सञ्चालनका लागि पहल भईरहेको विभागले उल्लेख गरेको छ । 


प्रतिक्रिया