यो बर्ष हालसम्मकै सबैभन्दा बढी रोपाइँ

श्रावण २७, २०७७ | काठमाडौं

नेपालमा यो बर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान खेती भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउनको तेस्रो सातासम्ममा कुल धान रोपाइँ हुने क्षेत्रको ९७ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यो प्रतिशत थप बढ्दो क्रममा छ ।

 बर्षे धान रोपाई हुने १३ लाख ७१ हजार हेक्टर मध्ये १३ लाख ३० हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रबक्ता डा. हरी बहादुर केसीले बताउनुभयो । रेडियो कान्तिपुरसँग कुराकानी गर्दै उहाँले रोपाइँ पूर्ण रुपमा नसकिएकाले क्षेत्रफल अझै बढ्ने छ ।

यो बर्ष कुल धान खेतीको ९८ प्रतिशत बढि क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको अनुमान छ । सबैभन्दा बढी प्रदेश २ मा शत प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रबक्ता केसीले जानकारी दिनुभयो । यो बर्ष मनसुनको सुरुवातबाटै बर्षा भएको तथा पर्याप्त जनशक्तिको उपलब्धताका कारण धान खेती उत्साहजनक भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले मुलुकभर देखिएको मलको अभाव छिट्टै अन्त्य हुने दाबी गरेको छ । आवश्यक मल ढुवानी प्रक्रियामा रहेको तथा कोलकत्तास्थित बन्दरगाहमा २१ हजार ५ सय मेट्रिक टन मल आईसकेकाले धान खेतीका लागि समस्या नहुने उहाँले बताउनुभयो । प्रबक्ता केसीले भदौको पहिलो साताबाटै मलको वितरण सुरु गर्ने उल्लेख गर्नुभयो । 


प्रतिक्रिया