प्राकृतिक विपदका कारण सडकमा मात्र ३ अर्ब बढीको क्षती

श्रावण २८, २०७७ | काठमाडौं

प्राकृतिक प्रकोपले सडक विभाग अन्तर्गतका संरचनामा मात्र ३ अर्ब बढीको क्षती पुर्याएको छ । सडक विभागका अनुसार बाढी तथा पहिरोका कारण १ सय ७७ स्थानका सडक र ३ वटा मझौला पुलमा ३ अर्ब बढीको क्षती पुगेको हो । 

अषाढयताको बर्षा र बाढीका कारण सबैभन्दा बढी पृथ्वी राजमार्गमा ४० किलोमिटर सडकमा क्षती पुगेको विभागले जनाएको छ । त्यसबाहेक अरनिको राजमार्ग र सिद्धार्थ राजमार्गले बढी क्षती ब्योहोरेका छन् । विभागका महानिर्देशक केशवकुमार शर्माले अबरोध भएका स्थानमा सडक खोल्ने क्रम जारी रहेको र केही स्थानमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यसबाहेक अन्य साना सडक तथा पुलमा पनि क्षती पुगेको छ । त्यसको पनि लगत संकलनको काम भईरहेको विभागले जनाएको छ ।

क्षती पुगेका मध्ये ८५ स्थानको सडक सञ्चालन भएको महानिर्देशक शर्माले बताउनुभयो । ७३ स्थानमा एकतर्फी सवारी सञ्चालन भएको बताउँदै उहाँले १९ स्थानका सडक भने पूर्ण रुपमा अवरुद्ध रहेको जानकारी दिनुभयो । सोमबार साँफेबगर मार्तडी सडक खण्डमा खसेको पहिरो र नदीको कटानले सो सडक खण्डमा ठुलो क्षती पुगेको विभागले जनाएको छ । त्यहाँ पनि करोडौंको क्षती भएको महानिर्देशक शर्माले बताउनुभयो ।

यसैबीच सडक विभागमा म्याद थपका लागि विभिन्न ५२ निर्माण कम्पनीले पत्राचार गरेका छन् । विभिन्न कारणले समयमै निर्माणको काम सम्पन्न गर्न नसकेका ती कम्पनीहरुले म्याद थपका लागि पत्राचार गरेका हुन् । 

लकडाउन तथा अन्य कारणले निर्माण पुरा गर्न नसकेका परियोजनालाई कम्तीमा ६ महिना थप गर्ने मन्त्रिपरिषदको निर्णय अनुसार विभागले साउन २२ गते सूचना जारी गरेको थियो । म्याद थपका लागि विभागले परियोजनाको कार्यप्रगती विवरण समेत माग गरेको छ ।     


प्रतिक्रिया