भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु

भाद्र ३, २०७७ | मकवानपुर

बाग्मती प्रदेश सरकारले भीमफेदी—कुलेखानीको सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु गरेको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सुरुङ मार्गको परामर्शदाता छनोट गर्न सार्वजनिक सूचना जारी गरिसकेको प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

 सूचना जारी भएको ३० दिनको अवधीमा ईच्छुक परार्मशदाताहरुले दर्खास्त हाल्ने र त्यसपछि परामर्शदाता छनोट गरिने मन्त्रालयका सचिव तेजराज भट्टले बताउनुभयो । परमर्शदाताको छनोटपछि सुरुङ मार्गको टेन्डर प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ । सुरुङ मार्ग, एप्रोच सडक र तीन वटा पुल निर्माण गर्नका लागि १८ अर्ब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

 चालु आर्थिक बर्षको अन्त्यसम्ममा परामर्शदाता र निर्माण कम्पनीको छनोट गरिसक्ने मन्त्रालयले जनाएको छ । भीमफेदी गाउँपालिका—६ स्थित बगर र ईन्द्रसरोवर गाउँपालिका—२ कुलेखानी ड्याममुनि ३ दशमलब २१ किलोमिटर लामो २ लेनको सूरुङ निर्माण गरीने बनेको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर नविन सिंहले बताउनुभयो । 

सुरुङको दुवैतिर गरी साढे २ किलो मिटर लामो एप्रोच सडक र तीन वटा पुल निर्माण हुने छ । सम्झौता भएको ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सो सुरुङ मार्गले भीमफेदी—कुलेखानी सडक १७ किलोमिटरको दुरीमा छोटिने मन्त्रालयले जनाएको छ । 

सो सुरुङमार्ग निर्माण भएपछि प्रदेशको राजधानी हेटौडाबाट काठमाडौं पुग्न बढीमा २ घन्टामात्र लाग्ने भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले दाबी गर्नुभयो । बहुवर्षीय योजनाको रुपमा रहेको सो सुरुङ मार्गका लागि यो आर्थिक बर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 


प्रतिक्रिया