सिन्धुपाल्चोकका १ सय २० बस्ती उच्च जोखिममा

भाद्र ३१, २०७७ | काठमाडौं

प्राकृतिक प्रकोपको दृष्टिकोणले उच्च जोखिममा रहेको सिन्धुपाल्चोकका १ सय २० बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् । जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न नसकिए थप भयावह अवस्था आउने उनीहरुको चेतावनी छ । 

बाढी र पहिरोको घटनापछि जिल्ला प्रशासन कार्यालयले विज्ञ तथा सरोकारवालासँग गरेको छलफलका क्रममा सरोकारवालाले १ सय २० बस्ती उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरणको पहल गर्न आग्रह गरेका हुन् । जिल्लामा एकै पालिकाका १५ देखि २० बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव आएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । भौगोलिक अवस्था, नदीले तय गरेको अवस्था तथा जमीनमा फाटेको धाँजालाई आधार मान्दै जोखिम क्षेत्रको पहिचान गरिएको हो ।

भुगर्भविद प्रकाशचन्द्र घिमिरेले सिन्धुपाल्चोकमा तत्काल स्थानान्तरण गर्ने बस्तीहरु सार्न बेवास्ता गरिए आगामी दिनमा भयावह स्थिती आउने बताउनुभयो । आज बिहान पनि जुरे र भर्खरै पहिरो गएको घुम्थाङको बीचलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भुकम्प गएकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको हो । 

ठुलो संख्याका बस्ती सार्नुपर्ने अवस्था रहेकाले निक्कै चुनौती बढेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । जोखिममा रहेका क्षेत्रको बिषयमा केन्द्रमानै जानकारी गराएर माथीबाटै समाधानको प्रयास खोजिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।     


प्रतिक्रिया