नेकपाका २ अध्यक्ष आजपनि छलफलमा

आश्विन ९, २०७७ | काठमाडौं

पार्टी र सरकार सञ्चालनका बिषयमा छलफल जारी राखेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले आज पनि संम्बादलाई जारी राख्ने भएका छन् । हिजो दिनभर छलफल गरेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आजपनि छलफललाई जारी राख्न लागेका हुन् । 

सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीमण्डल हेरफेरलाई केन्द्रमा राखेर दुई अध्यक्षबीचको छलफल केन्द्रित बनेको छ । बालुवाटारमा दिउँसो हुने छलफलमा कोरोना माहामारी रोकथाम र देशका बिभिन्न स्थानमा बाढी पहिरोले पुर्याएको क्षतीपछि राहत र उद्धारलाई प्रभावकारी बनाउने बिषय पनि समाबेश हुने दाहालको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीमा रहेका बेला दुई अध्यक्षले त्यसको मापदण्ड र व्यक्तिको टुंगो लगाउने बिषयमा गृहकार्य अघि बढाएका छन् । त्यस्तै रिक्त संवैधानिक निकायको पदपुर्ति तथा पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने बिषयमा पनि दुई अध्यक्षबीच आज छलफल हुनेछ ।

मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र एकताका काम सक्नेगरी कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिव बिष्णु पौडेललाई निर्देशन दिएको थियो । ओली निकट श्रोतले आजको बैठकले ती बिषयसंगै मन्त्रीमण्डल पुनर्गठनको खाका ल्याउने बतायो । श्रोतले भन्यो, 'केही दिनमै मन्त्रिपरिषद हेरफेर हुँदैछ । त्यसैको गृहकार्यमा दुई अध्यक्ष जुट्नुभएको छ । मापदण्ड तयार पारेर अबको केही दिनमै मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।'

अहिलेका सबै मन्त्री परिवर्तन गरेर राम्रो काम गर्नेलाई पुनर्नियुक्ति गर्ने तथा आन्तरिक शक्ति सन्तुलनलाई पनि ध्यानमा राख्दै नयाँ अनुहारलाई समेट्ने गरी शीर्ष तहमा सहमती बनेको नेताहरुले बताएका छन् ।  


प्रतिक्रिया