भारतीय सेना प्रमुख नरावणे कार्तिक १९ गते नेपाल आउने

कार्तिक ११, २०७७ | काठमाडौं

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति तय भएको छ । नरावणे तीन दिने नेपाल भ्रमणका लागि आगामी नोभेम्बर ४ तारिख अर्थात कार्तिक १९ गते आउन लाग्नुभएको हो । 

दुई देशका अधिकारीको संयुक्त बैठकले नरावणेको भ्रमणको मितिलाई औपचारिक टुंगो लगाएको हो । नरावणेको नेपाल भ्रमणको मिति भारतीय पक्षले नै तोकेको हो । भारतीय पक्षले तय गरेको मितिलाई नै आज बसेको बैठकले औपचारिकता दिएको हो । 

गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नरावणेको नेपाल भ्रमण स्वीकृत गरेको थियो । दुई देशबीचको सीमा विवाद तथा कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यसअघि नरावणेको नेपाल भ्रमण स्थगित भएको थियो । नेपाली सेनाले गत असोज २८ गते नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउनु हुने जानकारी दिएको थियो ।

नरावणेले गत डिसेम्बर ३१ तारिखमा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हाल्नुभएको हो । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । सो बेला नरावणेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । 

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । यसअघि कार्तिक ५ गते भारतीय बाह्य गुप्तचर विभाग रिर्सच एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभएको थियो । 

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्नुभएको थियो । कूटनीतिक मर्यादा नाघेर प्रधानमन्त्री ओालीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग भेट गरेको भन्दै अहिले पनि विरोध भईरहेको छ ।

भारतीय सेना प्रमुखको नेपाल भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक कुराकानी हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमणका क्रमममा नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाल र भारत दुबै देशका सेना प्रमुखलाई एक अर्काको देशमा मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रारत भ्रमणको क्रममा २०७५ पुस २९ गते मानार्थ भारतीय सेना प्रमुखको सम्मान ग्रहण गरिसक्नुभएको छ । 


प्रतिक्रिया