ओलीविरुद्धको अभियोग पत्र पार्टीको लेडरप्याडमा छापेर कार्यकर्तामा वितरण

मंसिर ९, २०७७ | काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको द्वन्द्व थप चर्कने संकेत देखिएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथी अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका अभियोग समेटिएको पत्र कार्यकर्ता तहमा वितरण हुन थालेपछि विवाद उत्कर्षमा पुग्ने देखिएको हो । सचिवालयको पछिल्लो बैठकमा दाहालले ओलीमाथी बिभिन्न आरोप लगाउदै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष दाहाल पक्षले पार्टीको लेटरप्याड प्रयोग गरि पार्टी कार्यालयबाटै ३० हजार प्रति छापेर कार्यकतालाई बाँड्न थालेको ओली पक्षको आरोप छ । त्यो अभियोगको जवाफका लागि ओलीले १० दिनको समय माग गरेको भएपनि यो बीचमा दाहाल पक्षले अस्वाभाविक रुपमा कदम चालेको नेताहरुको भनाई छ । 

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दाहाल पक्षको पछिल्लो कदमले पार्टीलाई गम्भीर परिस्थितीमा पुर्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, जे भईरहेको छ, त्यो निक्कै गलत छ, प्रधानमन्त्रीमाथी अर्का अध्यक्षले लगाएको अभियोग पत्रलाई पार्टीकै लेटरप्याड प्रयोग गरेर वितरण गर्नु निन्दनीय हो । यसले एकताको मर्म बोक्न सक्दैन ।

पार्टी एकता कायम राख्दै विवाद समाधानका लागि आफुहरु लागि परिरहेका बेला अर्को पक्षबाट चालिएको कदमले ठुलो आशंका जन्माएको उहाँको भनाई छ । १३ गते शनिबार बस्ने सचिवालय बैठकमा ओलीले लिखित रुपमै सो अभियोगको जवाफ दिने बताउँदै आउनुभएको छ । तर त्यसअगावै आफ्नै अध्यक्षबिरुद्ध गलत ढंङगले प्रचार गरिनु दुखद भएको नेता नेम्वाङले बताउनुभयो ।

दाहाल पक्ष भने ओलीलाई पेलेरै अघि बढ्ने मनस्थितीमा पुगेको छ । सरकार र पार्टी संञ्चालनमा ओली पुर्णत: असफल भएको तथा ओलीमा ब्यक्तिवादी चरित्र हाबी भएकाले पार्टीकै अस्तित्व संकटमा पर्दै गएकाले तत्काल त्यसको निकास दिनुपर्ने उनीहरुको माग छ ।   


प्रतिक्रिया