काम गर्न नदिएको प्रमाण पेश गर्न दाहालको प्रम ओलीलाई चुनौती

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०७७ | काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीलाई पार्टीले काम गर्न नदिएको प्रमाण पुष्टि गर्न चुनौति दिनुभएको छ । पार्टीले सरकारलाई काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेको भन्ने प्रधानमन्त्रीको दाबीलाई खण्डन गर्दै दाहालले काम गर्न नदिएको प्रमाण पेश गर्न चुनौति दिनुभएको हो । 

काठमाडौंमा आज आयोजित आफु निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले जस्तै संवैधानिक निकायले पनि संविधान मिचे जनताले हेरेर नबस्ने बताउनुभयो । 

दाहालले ओलीको नौटंकी र जोकरपनको पछाडी कोही नलाग्ने पनि दाबी गर्नुभयो । ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै दाहालले पार्टी बैठक, विधि विधान मिचेर हिड्ने ओली नै भगौडा भएको बताउनुभयो । दाहालले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप पनि लगाउनुभयो ।

यस्तै सोही पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले डमरु बजाउँदै केन्द्रीय सदस्य बाँडिरहेको आरोप लगाउनुभयो । नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष नेपालले ओलीको पार्टी सडकको धूलोमा परिणत हुने दाबी गर्नुभयो । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको नेपालको आरोप थियो । 


प्रतिक्रिया