अरूण तेस्रोको सुरूङमा पानी डाइभर्सन आजबाट सुरु गरिने

माघ १९, २०७७ | संखुवासभा

संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजनाको काम ४० प्रतिशत सकिएको छ । सुरूङमा पानी डाइभर्सन आजबाट सुरु गरिनेछ । 

नदीको पानी डाइभर्सन गर्न ४ सय २९ मिटरको सुरूङ मार्ग समेत निर्माण गरिसकेको छ । परियोजनाले सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरूण धिमानले जानकारी दिनुभयो ।

परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरूङमार्गको दूरी ११ दशमलव ७४ किलोमिटर छ । आयोजना विकास सम्झौता (पिडिए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ ।

बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युतगृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेको छ । एक खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १ सय ९७ दशमलव १ मेगावाट बिजुली नि:शुल्क पाइने र विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब आर्थिक लाभ लिनेछ । 

परियोजनाबाट प्रभावित स्थानीयवासीले एक अर्ब ६० करोडको शेयर पाउनका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।


प्रतिक्रिया