पार्टीलाई असर पार्ने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
पुस २८, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।
विशेष महाधिवेशन पक्षधरहरूले बन्दसत्र मार्फत केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेपछि संस्थापनले एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल गरेको हो ।
अपिलमा भनिएको छ–“देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ ।” विशेष महाधिवेशनका कारण कांग्रेस विभाजित हुने आशंका भइरहँदा कार्यवाहक सभापति खड्काले पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपिल गर्नुभएको हो ।
यसैबीच, विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने भएपछि पार्टीभित्र उत्पन्न विवाद मिलाउने पहल शुरु भएको छ । सभापति शेरवहादुर देउवाले आफू पक्षीय नेताहरुसँग छलफल गर्नुभएको छ भने नेता डा. शेखर कोइरालाले पनि आफ्नो टीममा रहेका केन्द्रिय नेताहरुसँग छलफल गर्नुभएको छ ।









