बिस्केट जात्रा सुरु

चैत्र २८, २०७७ | काठमाडौं

भक्तपुरमा बिस्केट जात्रा आजदेखि सुरु हुँदैछ । कोरोना संक्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै जात्रा मनाइँदैछ । तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।

आठ रात नौं दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा बैशाख ५ गतेसम्म चल्नेछ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिनेछ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा सुकुलढोका र पश्चिममा नासमना सम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइएको छ ।

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र साढे ५ बजे नित्य पूजा सम्पन्न गर्ने तथा बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताउनुभयो ।

जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आ आफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । संस्कृतविद् ओम धौभडेलले जात्रामा रथमा भैरवनाथको मूल देवता तथा बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको जानकारी दिनुभयो ।

वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानिन्छ । वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।


प्रतिक्रिया