सेतो मत्स्येन्द्रनाथको रथ यात्रा सुरु

फाइल फोटो 

वैशाख ७, २०७८ | काठमाडौं

कोरोना भाइरस संक्रमणको दोस्रो लहरबीच सेतो मत्स्येन्द्रनाथको रथ यात्रा सुरु भएको छ । जनबहालबाट मत्स्येन्द्रनाथ जमलस्थित तीन धारा पाठशाला पुर्‍याई त्यहाँ रथारोहणपछि सांस्कृतिक बाजागाजाका साथ रथ तानेर असन पुर्‍याइएको छ । 

कोभिड–१९ महामारीका कारण गत वर्ष रोकिएको रथ यात्रा सीमित व्यक्तिहरु मात्र बसेर तानेका छन् । पहिलो दिन रत्नपार्क-भोटाहिटी क्षेत्रका क्लब, संघ संस्थाका एक सय ५० जना स्वयंसेविका खेटेका छन् । दोस्रो दिन बालकुमारी-इन्द्रचोक-मखनका र तेस्रो दिन मरु-चिकंमुगल-जैशीदेवल र लगनका डेढ/डेढ सय जना स्वयंसेवक खटिने छन् ।

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा व्यवस्थापन समिति सचिव सुजिव बज्रचार्यले एकपटक यात्रामा सहभागी स्वयंसेवक दोहोर्‍याएर सहभागी हुन नपाउने बताउनुभयो । ‘यात्राका लागि तोकिएको एक सय जना महिला स्वयंसेविकामध्ये प्रत्येक दिन २५ जना मात्र सहभागी हुनेछ,’ उहाँले भन्नुभयो, ‘यात्रामा सहभागी हुनेलाई मास्क, स्यानिटाइजर, ग्लोब्स काठमाडौं महानगरले उपलब्ध गराएका छन् ।’ 

यात्रामा रथमा बस्ने बाहेक धमा (ब्रेक लगाउने) को पनि मुख्य भूमिका रहन्छ । मत्स्येन्द्रनाथ यात्रामा १० जना धमा छन् । उनीहरु सबै जनासँग सम्पर्कमा रहन्छन् । उनीहरुको प्रत्येक दिन पीसीआर परीक्षण गरेर नेगेटिभ आएकाहरुलाई मात्र जात्रामा सहभागी गराइने सचिव बज्रचार्यले बताउनुभयो ।

मंगलबार रथ असनमा पुगेपछि नेपाल भाषामा ‘या: न्याय्त’ भनी यात्राको पहिलो दिन सकिएको घोषणा गरेको थियो । असनमा रथ पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँ पुगेर मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ । रथमा दुबै आँखा भूइँतिर हेरिरहेको दायाँ हात अभयदान मुद्रा र बायाँमा कमलको फूल लिएको सेतो वर्णको मत्स्येन्द्रनाथको मूर्ति सजाईएको थियो । 

रथमा राजप्रतिनिघिका रुपमा मल्ल राजा पालाको ऐतिहासिक राज खड्ग राखिएको थियो भने जीवित देवी कुमारीलाई पनि जमल पुर्‍याइएको थियो । जात्राको दोस्रो दिन असनबाट हनुमानढोका दरबार क्षेत्रस्थित काल भैरवको विशाल मूर्ति अगाडि पुर्‍याइनेछ । 

तेस्रो दिन रथलाई दरवार क्षेत्रबाट लगनचोक पुर्‍याइनेछ । लगनचोकमा रथ पुगेपछि त्यहाँ अवस्थित मत्स्येन्द्रनाथको आमा भनिने सेतो अवलोकितेश्वरको मन्दिर र माँ सिमा (रुख) तीन पटक परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई ओरालेर सानो खटमा राखि जनबहालस्थित उनकै मन्दिरमा पुर्‍याइनेछ ।

यमलोकेश्वर, आर्याव लोकितेश्वर, पद्मपाणी अवलोकेश्वर, अमोघमाश अवलोकितेश्वर, खर्सप लोकेश्वर, जनमाद्य: आदि विभिन्न नामबाट पुकारिने सेतो मत्स्येन्द्रनाथको प्रत्येक वर्ष गरिने जात्राले मुलुकमा दुर्भक्ष नाश हुने जनविश्वास छ । 

जात्रा एघारौं शताब्दीका कान्तिपुरका राजा गुणकामदेवद्वारा कान्तिपुर नगरको स्थापना भएपछि पाटनको रातो मत्स्येन्द्रनाथ जात्राको अनुकरण गरी सेतो मत्स्येन्द्रनाथको जात्रा चलाइएको इतिहासकारहरु बताउँछन् । 

केशर पुस्तकालयमा रहेको ‘देशको इतिहास संग्रह’ भन्ने हस्तलिखित पुस्तकमा राजा यक्ष मल्लको पालामा कुमालेले माटो खन्दा निस्की सहरभित्र देवालय बनाएर स्थापना गरेका लोकेश्वर (सेतो मत्स्येन्द्र) को रथ बनाई प्रति वर्ष मत्स्येन्द्रनाथको रथारोहण यात्रा गराए’ भनी लेखिएको छ । 

मत्स्येन्द्रनाथ (शिदेश्वर) लाई वैष्णवीहरुले विष्णु, शैवहरुले शिव, शाक्तिहरुले शक्ति, सौरहरुले सूर्य, ब्राह्मणहरुले ब्रह्मा, मुनिहरुले मत्स्येन्द्रनाथ, वैदिकहरुले लोकेश्वर र बौद्धहरुले करुणामयका रुपमा पुज्ने गरिन्छ ।


प्रतिक्रिया