कोरोना कहरले रातो मत्स्येन्द्रनाथ जात्रा अन्योल

फाइल फोटो 

वैशाख २०, २०७८ | ललितपुर

सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ निर्माण थालेको सोमबार ६ दिन पुग्यो । पुल्चोकमा पाटन यावाल गुठीका १२ जना र बाराही गुठीका २३ जनाको सहभागितामा रथ निर्माण धमाधम भइरहेको छ । अगामी २९ गते रथारोहण र जेठ १ मा रथ यात्राको साइत परेको छ । 

काठमाडौं उपत्यकामा बैशाख मसान्तसम्म निषेधज्ञा जारी छ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट अत्यधिक मात्रामा फैलिरहेको भन्दै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । यस्तो अवस्थामा बाजागाजा सहित लवालस्करको उपस्थितिमा सम्पन्न गरिने जात्रा कसरी गर्ला भन्ने चासोको विषय बनेको छ । 

रथ निर्माण र जात्रा गर्ने बारेमा चैत्र २६ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरोकारवाला सहित बसेको बैठकले निर्णय गरिसकेको छ । गत वर्ष रथारोहणपछि मत्स्येन्द्रनाथलाई अनिर्णयको बन्दी बनाएर बिचल्ली बनाएको भन्दै स्थानीय रथ तान्न स्वफूर्ट रुपमा बाहिर निस्कदा झडप भएको थियो । जात्रा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी गुठी संस्थान र ललितपुर महानगरपालिकाको हो । 

शान्ति सुरक्षा र रथ तान्नेहरुको हकमा जिल्ला प्रशासन कार्यालय र स्थानीय २१ जातिय खलक हुन् । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख खीमा वलीले भन्नुभयो, ‘जात्रालाई व्यवस्थित बनाउने बारेमा सरोकारवाला सहितको उपस्थितमा जिल्ला प्रशासन कार्यालयमा पटक पटक छलफल भइरहेको छ । अहिलेलाई स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर परम्परालाई निरन्तरता दिने भन्ने छ ।’

रथ निर्माणाधिन अवस्थामा रहेकाले अहिले नै यस्तै गर्ने भन्ने टुंगो लागि नसकेको गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख वलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रथ तयार भइसकेपछि कति जनाको उपस्थितिमा कसरी तान्ने विषयमा स्थानीय जातिय खलक लगायत सरोकारवालासँग छलफल थालेर निष्र्कष निकाल्नेछौं ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले वैज्ञानिक प्रकृया अपनाई जात्रा सम्पन्न गर्ने बारेमा संस्थान लगायत सरोकारवालासँग छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । 

ललितपुर महानगरले पनि रथ यात्रा न्यून सहभागितामा सम्पन्न गर्ने बारेमा ज्यापू समाजका प्रतिनिधिसँग छलफल थालेको छ । परम्परा अनुसार यात्राको पहिलो दिन रथ पुल्चोकबाट तानेर पाटन गा:बहाल पुर्‍याइन्छ । त्यहाँ विभिन्न टोलका ९ वटा धिमे बाजा खलक उपस्थित हुने परम्परा छ । लगनखेलमा पुग्दा त्यहाँ १९ वटा धिमे बाजा उपस्थित हुनेगर्छ । 

त्यस्तै सुन्धारा, चक्रबहिल, जावलाखेल तान्ने पनि छुट्टाछुट्टै बाजा उपस्थित हुने गर्दछ । तर, यस पटक सीमित बाजामात्र उपस्थित गराइने ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जात्रा व्यवस्थित बनाउन रथ तान्ने, बाजा बजाउनेलाई छुट्टाछुट्टै टिसर्ट र क्यापको व्यवस्था गर्छौं । महानगरले स्यानिटाइजर, मास्क, ग्लोब्स, थर्मल गन उपलब्ध गराउँछौं ।’

पाटनमा गा:बहाल, वछु त्वा:, लग: या: र पुच: गरेर चार वटा जात्रा व्यवस्थापन समिति छन् । यी समिति मार्फत रथ तान्न पालो पर्ने टोलकाहरु मात्र उपस्थित गराउने गरी व्यवस्था मिलाउने तयारी भइरहेको प्रवक्ता महर्जनले बताउनुभयो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जात्रा सम्पन्न गर्न महानगरको तर्फबाट कुनै पनि कमिकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले न्यून जनसहभागितामा स्वास्थ्य मापदण्ड अपनाएर जात्रा सम्पन्न गरिने बताउनुभयो । 

महानगरले जात्रासँग सरोकार राख्ने अन्य खल पुच:हरुसँग अर्को चरणमा छलफल गर्ने जनाएको छ । मत्स्येन्द्रनाथ सूर्य दक्षिणयण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसालिन्छ । यो भारत असमको कामरुप कामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथ नेपाल ल्याउन भूमिका खेलेका भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो ।

रातो मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशीले भन्नुभयो, ‘मत्स्येन्द्रनाथ र मीननाथको रथ यात्रा गर्न कम्तीमा एक सय जना जनशक्ति चाहिन्छ । बढी भिडभाड हुने भएकाले सीमित व्यक्तिहरु मात्र उपस्थित गराएर रथको अगाडि पछाडि दुई वटा उपकरण मार्फत गन्तव्यमा पुर्‍याउन सकिन्छ ।’ रातो मत्स्येन्द्रनाथका ज्योतिषी जोशीले ६/६ महिना बुङमती र पाटनमा रात बसाल्ने परम्परा कुनै पनि हालतमा तोड्न नमिल्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गत वर्ष परम्परा तोड्न खोज्दा नराम्रोसँग झडप भयो ।’ गत वर्ष स्थानीयहरु रथ तान्न स्वफूर्त रुपमा भाद्र १८ मा बाहिर निस्केका थिए । त्यसक्रममा भएको झडपमा २४ जना पक्राउ परेका थिए । झडपपछि क्षमापूजा गरेर भाद्र २१ मा रथ तानेर पुल्चोकबाट अलि पर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइ भोलिपल्ट जात्रा मनाइएको थियो । भाद्र २६ मा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती प्रस्थान गरिएको थियो । त्यतिबेला मत्स्येन्द्रनाथलाई अलपत्रमा पारेको भन्दै आवाज उठाएकी स्थानीय पृथबिन्दु महर्जन भन्छन्, ‘गत वर्षको जस्तो घटना नदोहोरियोस् । सरोकारवाला सबैको बेलैमा ध्यान जाओस ।’

नेपालमा बाह्र वर्षसम्म पानी नपरी अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापू भारत असमको कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ । राष्ट्रप्रमुखको उपस्थितिमा जावलाखेलमा भोटो देखाइसकेपछि जात्रा सम्पन्न हुने गर्दछ । कोभिड–१९ कारणले गत वर्ष नरिवल खसाल्ने र भोटो जात्रा भने गरिएन ।


प्रतिक्रिया