दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात छ : वाणिज्य विभाग

वैशाख २१, २०७८ | काठमाडौं

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको दाबी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा मौज्दात रहेको जानकारी दिनुभएको हो । 

महानिर्देशक पौडेलले बजारमा खाद्यान्न सहजै उपलब्ध हुने भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी खरिद गरी सञ्चय नगर्न र नआत्तिन पनि आग्रह गर्नुभएको छ । चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम वस्तुको मौज्दात ३ महिनाका लागि भएकोले आपूर्ति सहज रहेको र वितरणमा कुनै समस्या नभएको उहाँको भनाई छ । 

यस्तै दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाइ छ । यस्तै बजारमा अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने र त्यसका लागि नियमित अनुगमन भइरहेको महानिर्देशक पौडेलले बताउनुभयो ।    


प्रतिक्रिया