जसपा अलमलमा, पार्टी फुट्ने अवस्था आए तटस्थ बस्ने

वैशाख २४, २०७८ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा दुई धारमा रहेको जनता समाजवादी पार्टी जसपाले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्ने जनाएको छ । 

जसपाभित्रको पूर्व राजपा पक्षले ओलीलाई विश्वासको मत दिने र पूर्व संघीय समाजवादी पार्टी नदिने पक्षमा देखिएसँगै जसपा विभाजनको संघारमा पुगेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी एकता जोगाउन संसदमा तटस्थ रहने बिषयमा पार्टीमा छलफल सुरु भएको बताउनुभयो । 

रेडियो कान्तिपुरसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफुहरुले आन्तरिक छलफल जारी राखेको र छिट्टै संस्थागत निर्णय सार्वजनिक गर्ने उल्लेख गर्नुभयो । आफुहरुका मागका सम्बन्धमा लामो समयको मागलाई वर्तमान सरकारले पुरा गरेको भन्दै जसपाभित्रको एउटा पक्ष ओलीप्रति ललिचो बनेको छ । तर संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीलाई जसरी पनि सत्ताच्युत गरेर नयाँ सत्ता समीकरण बनाउने पक्षमा लागेका छन् ।

अध्यक्ष ठाकुरले भन्नुभयो, सुरुवातमा हाम्रो प्रयास पार्टी एकता जोगाउनु नै हुनेछ । आवेगमा निर्णय दिनुभन्दा दिर्घकालीन फाईदा पनि हेर्नुपर्नेछ । त्यसका लागि तटस्थ बस्ने विकल्पले नै पार्टीलाई हित पुर्‍याउछ ।

आगामी सोमबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने/नदिने बिषयमा मत बिभाजन हुनेछ । 


प्रतिक्रिया