एमालेद्वारा विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी

वैशाख २६, २०७८ | काठमाडौं

सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । मुख्य सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो । 

उहाँले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको उल्लेख गर्नुभएको छ । कोभिडका कारण संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले बताउनुभएको छ । ।

यसैबीच प्रधानमन्त्री ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै ओलीले विरोधीहरुका स्वार्थलाई मलजल गर्न आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्ने जस्ता हानिकारक प्रयास भएको बताउनुभएको छ । पार्टी अध्यक्षको हैसियतमा ओलीले त्यस्ता अपराध कर्ममा संलग्न नहुन सबैलाई आह्वान र आग्रह गर्नुभएको हो ।


प्रतिक्रिया