आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक शर्माविरुद्ध १ अर्ब ३३ लाख बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

असार ९, २०७८ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फस्र्यौट आयोगका ३ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले आयोगका सदस्यसमेत रहेका शर्मा र अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । 

उनीहरुले राजपत्रमा प्रकाशित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोप अख्तियारले लगाएको छ ।

२०७१ साल माघ २२ गते वदनियतपूर्वक करदाताहरुसँग कर फस्र्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम विगो बमोजिम जरिवाना र कारवाही मागदाबी गरिएको प्रबक्ता रिसालले जानकारी दिनुभयो । 


प्रतिक्रिया