जयसिंह धामीको अवस्था अझै अज्ञात, छानबिनका लागि भारतीय पक्षलाई पत्राचार गरिसकेको प्रशासनको भनाई

श्रावण १६, २०७८ | दार्चूला

व्यास गाउँपालिका–२ मालघाटमा तुइन तरिरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुकाल्दा शुक्रबार महाकालीमा बेपत्ता भएका स्थानीय जयसिंह धामी अझै फेला पर्न सकेका छैनन् । शुक्रबार बिहानैदेखि उनको खोजीमा सुरक्षाकर्मीसँगै स्थानीय महाकाली किनारमा नेपाल र भारत दुवैतिर खोज्दा समेत फेला परेनन् ।

प्रत्यक्षदर्शी  स्थानीय कल्याणसिंह धामीका अनुसार एकजना एसएसबीले रुखमा बाँधेको तुइन फुकाल्दा घटना घटेको हो । उनले भने, “नदीको सुसाट बढी थियो, आवाज नसुन्ने हुँदा हातको इसाराले मैले मान्छे छ, घाट मत निकाल्ना भने, उसले वास्तै गरेन् ।” पारीपट्टी पुुग्नै लागेका बेला एसएसबीले डोरी निकालेपछि लछारिएर जयसिह कालीको भेलमा खसेका हुन् । “डोरी फुकालेर जयसिंह नदीमा खस्ने बितिकै एसएसबी घाटबाट माथि रोडतिर भागिहाल्यो । उनले थपे, ‘नदीमा खसेको केही बेरसम्म जयसिंह बगेको टाउकोसम्म देखियो । एकछिनमै नदीमा डुबिहाले, अहिलेसम्म फेला पर्न सकेका छैनौँ ।”

कल्याणाका अनुसार जयसिंह तुइन तरी नदीको बीच भागमा पुग्नेबेला माथिबाट नदीको किनारमा पुुगेका एक जना एसएसबीले रुखमा बाँधेको तुुइनको डोरी फुकालेका थिए । जिल्लाको सदरमुकाम र बजार क्षेत्रमा जानका लागि वर्षौदेखि महाकाली माथिको तुईनको सकस खेप्दै आएका छन् । तुइन तर्नुपर्ने बाध्यताको बीच भारतीय सुरक्षाकर्मीहरुले गाली गर्ने, कुुटपिट गर्ने, धम्क्याउने काम गर्ने गरेको स्थानीय बताउँछन् । सीमा क्षेत्रमा निगरानी बढाउँदै आएको एसएसबीले दिनहुँजसो तुइन काट्दै आएका छन् ।

त्यस्तै भारतीय एसएसबीले तुइन काट्दा बेपत्ता भएका जयसिंह अहिलेसम्म नभेटिदा गाउँ शोकमग्न भएको स्थानीय हरक कार्कीले बताए । गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारै किनार जयसिंहको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव निकै बढेको छ । पानी पनि परिरहेकोले खोजी कार्यमा समस्या आएको स्थानीयले बताएका छन् । चार भाईसँग केही समय अगाडी छुटिएर बसेका जयसिंहको काँधमा परिवारको सम्पूर्ण जिम्मेवारी छ । परिवारको भार थाम्ने व्यक्ति बेपत्ता भएपछि घरपरिवारमा रुवाबासी चलेको उनको भनाई छ । 

भारतीय समकक्षीलाई पत्राचार भइसक्याे  ः जिल्ला प्रशासन कार्यालय

यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन चुँडिएर एक युवा नदीमा वेपत्ता भएको घटना सम्वन्धमा वास्तविक सत्य–तथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको बताएको छ ।

 सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता छानविन भइरहेकाले दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका समाचार प्रकाशन/प्रसारण नगर्न समेत आग्रह गरेको छ । प्रशासनका अनुसार घटनास्थलमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी दार्चुला र राष्ट्रिय अनुसन्धान कार्यालयको टोली खटेका छन् । 


प्रतिक्रिया