नेकपा एमाले विभाजित: माधव नेपाल पक्षद्धारा नयाँ दल दर्ताका लागि निवेदन

भाद्र २, २०७८ | काठमाडौं

अन्तत: आन्तरिक विवाद र बेमेलको लामो शृङ्खलापछि दक्षिण एसियाकै सबैभन्दा ठूलो वामपन्थी दल नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएसँगै संघीय संसदको पहिलो दल एमाले औपचारिक रुपमा विभाजन भएको हो । २०४६ सालको जनआन्दोलनपछि नेकपा माले र माक्र्सवादी मिलेर एकीकृत माक्र्सवादी लेनिनवादी बनेको सो पार्टी तीन दशकभन्दा बढीको अवधिमा दोस्रो पटक विभाजन भएको हो ।

२०५४ सालमा विभाजित भएपनि चार वर्षपछि एकीकृत भएको एमालेको अहिलेको विभाजनले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह रहँदै आएको शक्ति छिन्नभिन्न भएको छ । शेरवहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशमार्फत् दल विभाजनका लागि खुकुलो प्रावधान बनाएपछि एमालेको असन्तुष्ट पक्षलाई अलग पार्टी गठनका लागि ढोका खुलेको हो ।


माधव नेपाल पक्षद्धारा नयाँ दल दर्ताका लागि निवेदन


एमाले अध्यक्ष केपी ओलीसँगको मतभेद र विवादपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेकपा एमाले (समाजवादी) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नवौं महाधिवेशनमा अध्यक्षमा ओलीसँग झिनो मतले पराजित भएका नेता नेपालले आन्तरिक विवादका बेलामा आफूलाई सहयोग गरेका दोस्रो तहका थुप्रै नेताको साथ नपाएपनि नयाँ पार्टी दर्ता गराउनुभएको हो । सो पक्षले निर्वाचन आयोगबाट चुनाव चिन्ह खुल्ला किताव पाउन निवेदन दिएको छ । नेपाल पक्षका सांसद मेटमणि चौधरीले दल दर्ताका लागि आयोगमा निवेदन दिइएको जानकारी दिनुभयो ।

नेपाल पक्षले ९५ जना केन्द्रिय सदस्यसहित नयाँ दल दर्ताका लागि निवेदन दिएको छ । नवौं महाधिवेशनबाट निर्वाचित भएकामध्ये ५८ जना केन्द्रिय सदस्य आफूहरुको समर्थनमा रहेको सो पक्षले दावी गरेको छ । निर्वाचन आयोगमा नेता माधव नेपाललाई पहिलो वरियतामा राखेर बुझाइएको केन्द्रिय कमिटीको सूचि यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन ।

नेता नेपाललाई दोस्रो तहका थोरै नेताले मात्र साथ दिएका छन् । यसअघि सो समूहमा रहेका प्रायजसो नेताले अहिले तटस्थ बस्ने बताएका छन् । नेता नेपाललाई अहिले मुकुन्द न्यौपाने र बेदुराम भुषालले मात्र साथ दिने बताएका छन् । घनश्याम भुषाल, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, यज्ञराज सुनुवार लगायतका नेताले तत्काल कुनै पनि समूहमा नलाग्ने बताएका हुन् ।

एमालेको आरोह–अवरोह

२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता–असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै अहिले विभिन्न खेमामा अस्तित्वमा छन् । झापा आन्दोलन तथा विभिन्न धार र विचार समूहको अस्तित्वपश्चात् २०४६ सालमा नेकपा माले र माक्र्सवादी पार्टीबीचको एकतापछि नेकपा एमाले ठूलो शक्तिको रुपमा विकसित भएको थियो ।

सन् १९९० को दशकमा सोभियत संघको विघटनपछि संसारभर कम्युनिष्ट आन्दोलन कमजोर भइरहेका बेला नेपालमा ठूलो वामपन्थी घटकको रुपमा एमाले राष्ट्रिय राजनीतिमा उदाएको थियो । ३२ वर्षको कालखण्डमा संसद, सरकार र सडकमा वलियो वामपन्थी शक्तिको रुपमा देखा परेको एमालेले आफूलाई जनजीविकाका मुद्दा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियताको रक्षा गर्ने शक्तिको रुपमा परिभाषित गर्दै आएको छ ।

निर्वाचनमार्फत् लोकतान्त्रिक मूलप्रवाहमा होमिएको नेकपा एमालेले २०४८ सालमा तत्कालीन प्रतिनिधिसभामा एक तिहाइ सिटमा विजय हासिल गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो । त्यस्तै, २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै एमालेले तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार सञ्चालन गर्‍यो । तर तीन वर्षपछि २०५४ सालमा महाकाली सन्धी र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई हेर्ने फरक दृष्टिकोण लगायतका कारण एमाले विभाजन हुन पुग्यो । सीपी मैनाली, राधाकृष्ण मैनाली, बामदेव गौतम लगायतको समूह एमालेबाट बाहिरिएर त्यतिवेला नेकपा माले गठन भएको थियो । त्यसको चार वर्षपछि २०५८ सालमा बामदेव गौतम लगायतका नेता एमाले फर्किंएपनि सीपी मैनालीको नेकपा माले अहिले पनि अस्तित्वमा छ ।

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन विद्रोही माओवादी ठूलो दल बन्दा एमाले भने तेस्रो शक्तिको खुम्चिएको थियो । पहिलो संविधानसभा संविधान नै नबनाई विघटन भएपछि, भएको दोस्रो निर्वाचनमा एमाले फेरि दोस्रो ठूलो राजनीतिक शक्ति बन्यो । पहिचानको मुद्धालाई बोकेर अशोक राई र राजेन्द्र श्रेष्ठ लगायत नेता पार्टीबाट चोइटिएपनि एमालेलाई दोस्रो संविधानसभा निर्वाचनमा खासै असर गरेको देखिएन । संविधानसभाको दोस्रो शक्तिको रुपमा एमालेले नेपाली कंग्रेस र माओवादी केन्द्र लगायत दलको सहमतिमा २०७२ सालमा नयाँ संविधान जारी गर्न महत्वपूर्ण योगदान गर्‍यो ।

संविधान जारी भएपछि भएको स्थानीय निर्वाचनमा पहिलो भएको एमालेले केही महिनापछि संघीय र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्‍यो । अन्तत: २०७५ साल जेठ ३ गते माओवादी केन्द्रसँगको एकतापछि नेकपा गठन भएको थियो । तर पार्टीभित्रको अन्तर कलह बढ्दै जाँदा तीन वर्ष नपुग्दै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्था फर्किए । माओवादी अलग भएपनि एमालेभित्र अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालवीचको आन्तरिक किचलोले अन्तत: पार्टी विभाजनको रुपमा लिएको हो ।

२०४७ सालको राजनीतिक परिवर्तनपछि आफ्ना चार नेतालाई कार्यकारी प्रधानमन्त्री बनाउन सफल भएको एमालेको अहिलेको विभाजनले बलियो वामपन्थी शक्ति छिन्नभिन्न बन्न पुगेको छ । पटक पटक विभाजनको मार खेप्दै आएका नेपालका कम्युनिष्ट पार्टीको नियति एमालेको हकमा पनि दोहोरिएको छ । योसँगै राष्ट्रिय राजनीति र वामपन्थी आन्दोलन आगामी दिनमा प्रभावित हुने निश्चित प्राय: छ । 


प्रतिक्रिया