कोरोना माहामारीका कारण गरिबी बढ्दै :युनिसेफ नेपाल

माघ १०, २०७८

कोरोना महामारीका कारण गरिबीतिर धकेलिने परिवारको संख्या बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । युनिसेफ नेपाल र शेयरकाष्ट ईनिसियटिभले सन् २०२० मे देखि २०२१ नोभेम्बरसम्म विभिन्न चरणमा गरेको ८ वटा सर्वेक्षणले ३० प्रतिशत परिवार गरिबीतिर धकेलिने जोखिम देखाएको हो । यसअघि जुलाइ २०२० मा गरिएको सर्वेक्षणमा बालबालिका भएका ६० प्रतिशत घरपरिवारले आम्दानी र जिविकोपार्जनका माध्यम गुमाएको पाइएको थियो । त्यस्तै २१ प्रतिशतले भरपेट खानको लागि दैनिक संघर्ष गरिरहेको र ११ प्रतिशत परिवार र उनका बालबालिकाले पहिलेको तुलनामा कम खाना खाने गरेको पाइएको छ ।

बालश्रमको व्याप्ति २ प्रतिशतमा घटेको विभिन्न तथ्याङ्कले देखाए पनि पछिल्लो तथ्याङ्कले भने बालश्रममा बृद्धि भएको देखाएको छ । बालश्रम बढेर १० प्रतिशतमा पुगेको शेयरकाष्ट इनिसियटिभले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै समुदायमा महिला तथा बालबालिकामाथि हुने हिंसा पनि बढेको छ । १५ प्रतिशत उत्तरदाताले छोरीहरुले बालविवाह गर्न बाध्य भएको र शिक्षामा भेदभाव खेप्नु परेको बताएका छन् । छोराहरुले आर्थिक शोषणका साथै शारीरिक हिंसा र धेरै गाली खाने गरेका छन् ।

सर्वेक्षणमा ६ हजार परिवारका अभिभावकसँग अन्तर्वार्ता गरिएको शेयरकाष्टका अध्यक्ष मधु आचार्यले बताउनुभयो । सर्वेक्षणमा जनजिविका, स्वास्थ्य तथा सरसफाइ, बालबालिकाको शिक्षामा पहुँच, बालबालिकाको पोषण, महिलाका अवस्था जस्ता विषयहरु समेटिएका थिए । 


प्रतिक्रिया