मोरङको लेटाङमा बिहानै देखि कर्फयु जारी

चैत्र ७, २०७८

मोरङको लेटाङ–५ खेरुवामा स्थानीयको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहानै देखि कर्फयु जारी गरेको छ । घटना भएको खेरुवा वरपरको ५ सय मिटर क्षेत्रमा बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फयु लगाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो । लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगेचोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंगे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फयू लगाइएको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आज बिहान ५ जनालाई पक्राउ गरेको छ ।

यौन दुव्र्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको हिजो मृत्यु भएको थियो । भीडले सवारीसाधनमा आगजनी र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा  लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । घटनामा घाइते भएका १६ जना सुरक्षाकर्मीको कोसी र नोबल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया