राजनीतिक सहमति भएमा तत्कालै संविधान संशोधन गर्छाै : गृहमन्त्री खाँण

चैत्र १९, २०७८ | तेह्रथुम

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले ठूला राजनीतिक दलबीच राष्ट्रिय सहमति भएमा स्थानीय तह निर्वाचन अगाडी नै भएपनि संविधान संशोधन गर्न सकिने बताउनु भएको छ । 

जिल्ला प्रशासन कार्यालय तेह्थुमको नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले संविधान परिवर्तनशील दस्तावेज भएकाले जनताको माग र आवश्यकता अनुसार संशोधन भईरहने बताउनुभयो । केही समूह, जाती र राजनीतिक पार्टीले संविधान संशोधनको माग गरिरहेको भन्दै संविधान संशोधन नै गर्न नसकिने विषय नभएको बताउनुभयो । 

आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा हुने भएकाले सवै राजनीतिक पार्टीलाई चुनावमा भाग लिन पनि उहाँले आग्रह गर्नुभयो । आगामी स्थानीय तहको निर्वाचनमा हाल कायम रहेका जनप्रतिनिधिले भाग लिन चाहेमा पद त्याग गर्नुपर्ने निर्वाचन आयोगको निर्णय प्रति सरकारले पुनर्विचारका लागि आयोगलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभयो । 

गृहमन्त्री खाँणले देशमा रहेका सबै पार्टीलाई सहज ढंगले चुनाव लढ्ने व्यवस्था मिलाउन निर्वाचन आयोगमा दर्ता नभएका राजनीतिक दललाई समेत देशैभर एउटै चुनाब चिन्ह प्रदान गरी चुनावमा भाग लिने व्यवस्था मिलाउन निर्वाचन आयोग समक्ष माग गरिएको बताउनुभयो ।

मन्त्री खाँडले पछिल्लो समय देशमा पर्यटकीय गतिविधि खस्किएको र त्यसको असर समग्र अर्थतन्त्रमा परेको भन्दै गृह मन्त्रालयले २४ सै घण्टा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाउने कानून पारित गरिसकेको जानकारी दिनुभयो ।

‘अब पहिलेको जस्तो होटल तथा रेष्टुरेन्ट निश्चित समयपछि बन्द गर भन्दै प्रहरी आउँदैन,’ उहाँले भन्नुभयो, ‘सरकारले बनाएको नियम पालना गरी मज्जाले व्यवसायीले आम्दानी गर्न सक्छन् ।’

मन्त्री खाँणले अतिरिक्त समयमा काम गर्ने कर्मचारीको सुविधा वृद्धिका लागि अर्थमन्त्रालय समक्ष लेखी पठाएको समेत जानकारी दिनुभयो । ८ करोड ८४ लाख ८९ हजार २ सय ७६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रशासन कार्यालयको अढाई तले भवन गृह मन्त्रालयको सहयोगमा सुनकोशी निर्माण सेवाले निर्माण गरेको हो ।


प्रतिक्रिया