सत्तारुढ र प्रमुख प्रतिपक्षबीचको टकराबले संसद प्रभावित

जेष्ठ ३, २०८१ | काठमाडौं

सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीचको टकराबले संघीय संसदको बैठक प्रभावित बन्दै गएको छ । संसदीय छानबिन समिति गठनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध र सत्तारुढ दलको अडानका कारण प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित हुने देखिएको हो । 

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आइरहेको कांग्रेस सरकारलाई दबाब दिन सडकमा समेत उत्रिएको छ । 

सहकारी ठगी गर्नेमाथि कारबाहीको माग गर्दै कांग्रेसका भ्रातृ संस्था तरुण दल, नेविसंघ र महिला संघको अगुवाइमा हिजो राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । 

कांग्रेसले आफूहरुको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध जारी राख्ने चेतावनी दिईरहेको बेला एमालेले भने प्रतिवाद गर्ने तयारी गरेको छ । एमाले संसदीय दलको हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई कांग्रेसविरुद्धमा प्रतिवादमा उत्रन निर्देशन दिनुभएको थियो ।

संसद् खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयास गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुबीच यसअघि पटक पटक छलफल भएपनि सहमति भने हुन सकेन । 

सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच पनि हिजो बिहान छलफल भएको थियो । 

सत्तारुढ दलका तीन नेताबीच हिजो भएको छलफलपछि गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनु पाउनुपर्ने शर्त अघि सार्नु भएको थियो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिँदै आएको छ ।


प्रतिक्रिया