गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु

जेष्ठ २, २०७९

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान उद्घाटन गरेसँगै दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको हो । सो विमानस्थल संचालनमा आएसँगै मुलुकले ७४ बर्षपछि दोस्रो अन्तराष्ट्रिय विमानस्थल पाएको छ । हवाइ उडाको सुरक्षाकालागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आइएलएस सहितको विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरवस ३३० र त्यही क्षमताका बाइडबडी बिमान अवतरण गर्न सक्ने क्षमता छ । अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको गौतमबुद्ध बिमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत बैशाख २१ गते प्रमाणिकरण गरिसकेको छ । विमानस्थलको उद्घाटन हुनुअघि कुवेतको जजीरा एयरलाइन्सको एयरवस ३२० बिमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो । गौतमबुद्ध विमानस्थलमा पहिलो व्यवसायीक हवाइ उडान संचालन गरेको जजीरा एयरलाइन्सको सो बिमानबाट आएका सवै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो । जजीरा एयरलाइन्सले हप्ताको तिनवटा उडान गर्नेछ । विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गौतबुद्ध विमानस्थल संचालनमा आएपछि मुलुकको बढ्दो हवाइ चाप कम हुने र अन्तराष्ट्रिय हवाइ यात्राकालागि काठमाडौं पुग्नु पर्ने बाध्यता हटेको बताउनुभयो । दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि मुलुकको आर्थिक बिकासमा समेत ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

विस २०७१ माघ १ गते तत्कालिन प्रधानमनत्री स्व.सुशिल कोइरालाले बिमानस्थल आयोजनाको शिलन्यास गर्नुभएको थियो । तिन बर्षमा निर्माण सम्पन्न भैसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सह ठेकेदार कम्पनी बिचको विवाद, मधेश आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामाग्रीको आपुर्तीमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको हो । सवै ठेक्का, कार्गो भवन सहित विमानस्थलकालागि १० अर्व र जग्गा अधिग्रहणको मुअब्जाकालागि २२ अर्व ४७ करोड रुपैया लागतमा विमानस्थल संचालनमा आएको आयोजनाका प्रमुख प्रबेश अधिकारीले बताउनुभयो । पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अन्तराष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्नका लागि बिमानस्थल सेवा शुल्कमा छुट दिइने बताउनुभयो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देसको विमानस्थलमा जानु पर्ने बाध्यता आजदेखि हटेको बताउनुभयो । आजैबाट काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्त्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालनमा आउने छ । 


प्रतिक्रिया