परराष्ट्रमन्त्री डा.नारायण खड्का चीन भ्रमणमा जाने

रेडियो कान्तिपुर संवाददाता

श्रावण २०, २०७९ | काठमाडौं

परराष्ट्रमन्त्री डा.नारायण खड्का आगामी साउन २४ गते तीन दिनका लागि चीन भ्रमणमा जाने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का चीन जान लाग्नुभएको हो । दुई मन्त्रीबीच चीनको क्विङ्गदाओमा द्धिपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री खड्काको सम्मानमा समकक्षी यीले भोजको समेत आयोजना गर्ने तालिका रहेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणलगत्तै चीन–ताइवानबीचको विवाद उत्कर्षमा पुगेको छ । यद्यपी दुई मुलुकको विवादले भ्रमणलाई कुनै असर नगर्ने परराष्ट्र मामिला जानकारले बताएका छन् । मन्त्री खड्काको भ्रमण तालिका पुर्वनिर्धारित नै भएकाले चीन र ताइवानको विवादले असर नगर्ने त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय मामिला अध्ययन केन्द्रका अध्यापक डा खगनाथ अधिकारीले बताउनुभयो । नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता पटक पटक स्पष्ट पारिसकेकाले ताइवान सन्दर्भमा कुनै फरक दृष्टिकोण नहुने डा. अधिकारीको भनाइ छ ।

यद्यपी, नेपालले चीनको समर्थन गरेको अर्थ लाग्न सक्ने भएकाले सरकारी पक्ष गम्भीर भने हुनुपर्ने विज्ञको सुझाव छ । बर्तमान सरकारका तर्फबाट हालसम्म चीनको भ्रमण हुन नसकेको अवस्थामा छिमेक सम्बन्धमा जोड दिनु उपयुक्त भएपनि जारी तनावका बीच नेपालले बेइजिङ्गको समर्थन गरेको सन्देश जान सक्नेतर्फ सजग रहन आग्रह गरिएको छ ।   


प्रतिक्रिया