प्रत्यक्षतर्फ ८० प्रतिशत सिट टुंगो लागेको एमालेको दाबी

रेडियो कान्तिपुर संवाददाता

आश्विन १४, २०७९

नेकपा एमालेले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी चयन प्रतिकया करिब करिब टुंगो लागेको दाबी गरेको छ । ८० प्रतिशत निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लागिसकेको एमाले उप–महासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बाँकी २० प्रतिशत निर्वाचन क्षेत्रमा एमालेसँग तालमेल गर्ने दलका लागि छुट्याइएको सो पार्टीले जनाएको छ ।

प्रदेशसभाको ३ सय ३० सिटमा पनि सम्भावित उम्मेदवारको बारेमा करिब करिब सहमति नजिक पुगेको उहाँले जानकारी दिनुभयो । जित सुनिश्चित भएका उम्मेदवारलाई प्राथमितामा राखिएको एमालले जनाएको छ । उम्मेदवारहरुको अन्तिम नामावली सचिवालयको आगामी बैठकबाट तय गरिने एमालेले जनाएको छ ।

यस्तै नेकपा एमालले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने तयारी गरेको छ । नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाइने उप–महासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । 


प्रतिक्रिया