एमालेको घोषणापत्र : सरकार बने ६ महिनामा नागरिकता सम्बन्धि समस्या समाधान गर्ने

कार्तिक १५, २०७९ | काठमाडौं

आगामी निर्वाचनबाट आफ्नो नेतृत्वमा सरकार बनाउने लक्ष्यसहित नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीले अघि सारेको समृद्ध नेपाल: सु:खी नेपालीको राष्ट्रिय संकल्पलाई निरन्तरता दिदै एमालेले घोषणापत्र ल्याएको हो । काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभयो । सो अवसरमा ओलीले एमालेले मात्र देशलाई सुशासन र विकासको बाटोमा अघि बढाउन सक्ने दावी गर्नुभयो ।

अघिल्लो पटकको निर्वाचन माओवादी केन्द्रसँग मिलेर संयुक्त घोषणापत्र ल्याएको एमालेले आगामी चुनावका लागि यसअघि उठाएकै एजेन्डालाई प्राथमिकता दिएर घोषणापत्र बनाएको छ । पार्टी अध्यक्ष ओलीले एमालेको घोषणापत्र जनता छक्याउन नभई देश विकासका लागि ल्याइएको दाबी गर्नुभयो ।

२०७४ सालमा दुई तिहाई बहुमत निकट पुगेपनि पार्टीभित्रको विवादका कारण कायम रहन नसकेको एमाले अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । एमालेलाई कमजोर पार्न धेरै विषयमा अन्यौल उठाउन खोजिएको उहाँको भनाई थियो ।

संविधान भर्खरै कार्यान्वयन हुन थालेको भन्दै उहाँले अरुलाई दोष दिएर वर्तमान सरकार उम्किन खोजेको आरोप लगाउनुभयो । गठबन्धन सरकार बनेको १६ महिना वितिसक्दा पनि मूलुकमा नीतिगत सुधार हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र मधेस केन्द्रित दलहरुले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

यसैबीच, एमालेले आफ्नो घोषणापत्रमा विकास निर्माणका सन्दर्भमा २० वटा विषयलाई महत्व दिएको छ । जसमा आफ्नो नेतृत्वको सरकार बनाएर नेपालीलाई मात्र नागरिकता दिने देखि नेपालको अर्थतन्त्र एक सय खर्ब पुर्‍याउने लक्ष्य बनाएको छ । घोषणापत्रमा आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्र नागरिकता सम्बन्धि समस्या समाधान गर्ने, आगामी दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाउने, सबै परिवारलाई मासिक दश हजार लिटरसम्म पानी निशुल्क उपलब्ध गराउने एमालेको प्रतिवद्धता छ । त्यस्तै सबै परिवारलाई वर्खायाममा मासिक ५० युुनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निशुल्क उपलब्ध गराउने बाचा एमालेले गरेको छ ।

श्रमिकहरुको न्यूनतम ज्याला २५ हजार पुर्‍याउने, जेष्ठ नागरिक, दलित, एकल महिला, लोपान्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरि ६० लाखलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने जस्ता कार्यक्रम एमालेको घोषणापत्रमा परेको छ । महिनावारी हुने उमेर समूहका महिलाका लागि स्यानिटरी प्याड खरिद गर्न बार्षिक १५ सय उपलब्ध गराउने र ६० वर्ष माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने एमालेले बताएको छ । 


प्रतिक्रिया