तेह्रथुममा ५८ प्रतिशत मत खस्यो, लाइनमा बसेका ८८ बर्षिय बृद्धको मृत्यु

मंसिर ४, २०७९ | तेह्रथुम

तेह्रथुममा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत निराज शर्माका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार ४१ हजार ९ सय ५६ मत खसेको छ ।

 जसमा २० हजार ४ सय ७९ पुरुष र २१ हजार ४ सय ७७ महिलाले मतदान गरेको सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद हुमागाईले बताउनुभयो । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् । प्रारम्भीक नतिजा अनुसार २९ हजार ९ सय ७७ मतदाता मतदानमा सहभागी भएका छैनन् ।

लाइनमा बसेका ८८ वर्षीय मतदाताको मृत्यु 

तेह्रथुममा मतदानकालागि लाईनमा बस्ने क्रममा ढलेर ८८ बर्षिय एक मतदाताको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा लाईनमा बस्ने क्रममा युहाङ जित लिम्बूको आज विहान ८ बजेर ४० मिनेटको समयमा लिम्वुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बु उच्च रक्तचापका बिरामी थिए ।   


प्रतिक्रिया