सरकार गठनमा अन्यौल : एमाले अध्यक्ष ओली

पुस ५, २०७९ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि सरकार गठन प्रक्रिया अन्यौल बन्दै गएको टिप्पणी गर्नुभएको छ । एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बधाई र शुभकामना दिन काठमाण्डौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार गठनमा भद्धा अभ्यास भइरहेको बताउनुभयो । 

उहाँले एमाले बाहेकका दलहरु पदको लोभ तथा स्वार्थमा केन्द्रीत बनेको उल्लेख गर्नुभयो । नेपालका राजनीतिक दलहरु आदर्श र नीति सम्मत चल्नुपर्ने भए पनि त्यसो हुन नसकेको अध्यक्ष ओलीको भनाई थियो ।

एमाले अध्यक्ष ओलीले हालै सम्पन्न निर्वाचनमा धाँधली, बुथ कब्जाका गतिविधिले राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले निर्वाचनमा निर्वाचन आयोगको भूमिका समेत निश्पक्ष नभएको आक्षेप लगाउनुभयो । 

जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसिदाँ पार्टीले अपेक्षाकृत मत पाउन नसकेको बताउनुभयो । धाँधलीकाबीच पनि एमालेले सबै चक्रव्यूह तोडेर चुनावबाट लोकप्रिय मत प्राप्त गरेको उहाँको भनाई थियो ।

सत्तागठबन्धनका कारण व्यवस्थापिका र न्यायपालिका अर्कमन्यतातर्फ धकेलिएको उहाँको भनाई थियो । राजनीति क्षेत्रमा अस्थिरता मौलाएको, सामाजिक तथा साँस्कृतिक विचलन आएको र अर्थतन्त्र धराशयी बन्दै गएकोप्रति एमाले चिन्तित रहेको जिकिर गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि डटेर काम गर्न नवनिर्वाचित सांसदहरुलाई निर्देश गर्नुभयो । 


प्रतिक्रिया