गृहमन्त्री लामिछानेको नागरिकताविरुद्धको रिटमाथिको सुनुवाई आज

माघ ११, २०७९

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद बन्ने योग्यतामाथि परेको मुद्दामा संवैधानिक इजलासमा अग्राधिकार सहित आज सुनुवाई हुँदैछ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले यसअघी अन्तरिम आदेशको आवश्यकता नरहेको ठहर गरेपछि मुद्दाको अन्तिम सुनुवाई संवैधानिक इजलासमा हुन लागेको हो । यसअघि गत पुस ६ गते लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षबीच छलफलका लागि सर्वोच्चले आदेश दिएको थियो ।

लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै युवराज पौडेल र रविराज बसौलाले रिट दायर गर्नुभएको हो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले एकैपटक अमेरिकी र नेपाली दुवै नागरिकको हैसियतमा नेपालमा बसेको आधारहरु भेटिएका छन् । अमेरिकी पासपोर्ट बोकेर सन २०१५ मा नेपाल आएको १६ दिनमै लामिछानेले नेपाली पासपोर्ट लिएको खुलेको छ । तर उहाँले अमेरिकी पासपोर्ट भने २०१८ मा नै त्याग्नु भएको थियो ।

दुवै मुलुकको राहदानी प्रयोग सम्बन्ध छानबिन र कारबाहीको माग गर्दै अर्काे रिट पनि दर्ता भएको छ । चितवन क्षेत्रनम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा गृहमन्त्रालय, संघीय संसद र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको छ । 


प्रतिक्रिया