भ्रष्टाचार हुने मुलुकमा नेपाल १ सय १० औं स्थानमा

माघ १७, २०७९ | काठमाडौं

नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा १ सय १० औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपाल ३४ अंकका साथ १ सय १० औं स्थानमा छ ।

 वर्ष २०२२ को सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बन्दा सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्ट भन्ने जनाउँछ । ५० भन्दा कम अंक प्राप्त गर्ने राष्ट्र बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गणना गरिन्छ ।

 सो अनुसार नेपाल पनि बढी भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको प्रतिवेदन ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको हो ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ मा नेपालले १ सय मा ३४ अङ्क पाएको छ । गत वर्ष नेपालको अंक ३३ हुँदा १ सय १७ औं स्थान प्राप्त थियो । प्राप्त अंकमा केहि सुधार भएता पनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार भुटानमा हुने पाइएको छ । उसले ६८ अङ्कसहित २५ औं स्थान हासिल गरेको छ । मालदिभ्सले ४० अङ्कसहित ८५ औं, भारतले ४० अङ्क सहित ८५ औं, श्रीलङ्काले ३६ अङ्कसहित १ सय १ औं स्थान प्राप्त गरेका छन् । 

नेपालभन्दा मुनि पाकिस्तानले २७ अङ्कसहित १ सय ४० औं, बङ्गलादेशले २५ अङ्कसहित १ सय ४७ औं र अफगानिस्तानले २४ अङ्कसहित १ सय ५० औं स्थान प्राप्त गरेका छन् । 

सन् २०२२ मा विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई भ्रष्टाचार अवधारणा सूचकाङ्कको आधार मानिएको छ ।


प्रतिक्रिया