सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा दोस्रो पटक मन्त्रीमण्डल विस्तार

जेष्ठ ६, २०८० | कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित तीन जना र नेपाली कांग्रेसबाट एक जना गरी चार जनालाई मन्त्री नियूक्त गरिएको छ ।

माओवादी केन्द्रबाट झपटबहादुर साउँद सामाजिक विकास, रमेशबहादुर धामी उद्योग पर्यटन वन तथा वातावरण र गीतादेवी माल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री नियूक्त हुनुभएको छ । कांग्रेसका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । यसअघि भौतिक पूर्वाधार विकासमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिलामा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई नियूक्त हुनुभएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेको सुदूरपश्चिम सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन जना, माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित तीन जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन् । यसैबीच, मन्त्रालय भागबण्डा नमिलेको भन्दा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले भने नाम सिफारिस नगरेको जनाइएको छ । सो पार्टीले दुई मन्त्रालयमा दाबी गरेको थियो । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले दुई मन्त्रालय दिन नसक्ने अडान लिएपछि नागरिक उन्मुक्ति सरकारमा सामेल नभएको हो । 


प्रतिक्रिया