बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १५, २०८० | काठमाडौं

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा २ दशमलव ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलव ३७ प्रतिशतले बढी हो । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गर्नु भएको हो । सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने अर्थमन्त्री महतले बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताउनुभयो ।

चालू आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २ दशमलव १६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । आर्थिक वर्षमा मूल्य वृद्धिदरको लक्ष्य ७ प्रतिशत तय गरिए पनि त्यो भन्दा माथि रहँदै आएको छ ।

यसैबीच बजेट प्रणालीमा सुधार, कार्यन्वयन क्षमता वृद्धि एवं राजश्व प्रशासनलाई चुस्त बनाएर आगामी बजेट कार्यन्वयन गरिने अर्थमन्त्री डा महतले बताउनुभयो ।

सार्वजनिक खर्चमा सुधारसंगै उत्पादन वृद्धि, रोजगारी सिर्जना कृषि पर्यटनलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. महतले उल्लेख गर्नुभयो । सरकारी निजी र सहकारी ३ खम्वे अर्थनीतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । बजेट मार्फत धनी र गरिव बीचको असमानता अन्त्य गर्ने प्रयास गरेको अर्थमन्त्रीले दावी गर्नुभयो । आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको लक्ष्य राखिएको उहाँको भनाई छ ।

अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने र गुणस्तरीयसामाजिक विकास सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री महतले बताउनुभएको छ । 


प्रतिक्रिया