पहिरोले हुम्लाको सर्केगाडका विभिन्न स्थानमा क्षति
श्रावण १३, २०८० | हुम्ला
हुम्लाको सर्केगाड गाउँपालिकाको रादेउ, उनापानी र रिप गाउँमा पहिरोले व्यापक क्षति पुर्याएको छ । ती क्षेत्रमा भीषण वर्षासँगै खसेको पहिरोले पुल–पुलेसा, खेतबारी, घर र सडकमा क्षति पुर्याएको स्थानीयबासीले बताएका छन् । रादेउ गाउँमा पुल–पुलेसा, घट्ट र खेतबारी बगाएपछि गाउँ नै जोखिममा परेको छ ।
त्यस्तै, २ सय ३० घरधुरी रहेको रिप गाउँमा खेतबारीमा पहिरो गएपछि स्थानीयबासी त्रसित भएका छन् । उनापानीमा भने लघुविद्युत् आयोजनाको पावर हाउसमा पहिरोले क्षति पुर्याएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् ।
खानेपानीका मुहान पुरिनुका साथै धान खेत पनि पहिरोले पुरेको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ७० जना सुरक्षाकर्मी सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा खटिएका छन् ।