कोप-२९ मा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजान जाँदै
कार्तिक २५, २०८१ | काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन अजरबैजान जाँदै हुनुहुन्छ ।
बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठक समेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ ।
बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यका लगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिबारे जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले जलवायु परिवर्तन सम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।
सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।