राष्ट्रिय विभूति फाल्गुनन्दको १४० औँ जन्मजयन्ती मनाइँदै

कार्तिक २५, २०८१ | काठमाडौं

राष्ट्रिय विभूति तथा किरात धर्मका प्रर्वतक महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विशेषगरी पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न जिल्लामा फाल्गुनन्दको जन्म जयन्ती भव्यताका साथ मनाउने गरिन्छ ।

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । विक्रम सम्वत १९४२ कात्तिक २५ गते इलामको चुक्चि–नाम्वामा जन्मिएका फलामसिंह लिंङदेन अर्थात फाल्गुनन्दलाई समाज सुधारका रुपमा पनि लिइन्छ । 

फाल्गुनन्दले विवाहको बेला माइतीले चेलीबेटीको रित खाने प्रथालाई निस्तेज पार्ने, मादक पदार्थ सेवन गर्नु हुँदैन भन्ने लगायत समाज सुधारका काम गरेको जानकार बताउँछन् ।

किरात समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । किरात समाज सुधारमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । 

उहाँको योगदानको कदर गर्दै किराती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायत जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया