प्रधानमन्त्री दाहालको चीन भ्रमण तालिका सार्वजनिक

आश्विन ४, २०८० | काठमाडौंं

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ । चीनीयाँ समकक्षी ली क्वाङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल यहि असोज ६ देखि १३ गतेसम्म एक साता चीन भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री दाहाल भोलि त्यतैबाट बेइजिङ जानुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सि जिनफिङ, समकक्षी लि क्वाङसँग भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रधानमन्त्री दाहालसँगै स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहाकार शंकरदास बैरागी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ सहितका पदाधिकारी रहनेछन् ।

दाहालले बेइजिङमा हुने चीन–नेपाल लगानी सम्वन्धि संयुक्त सम्मेलनमा सम्बोधन गर्ने तथा होङझाओमा आयोजित एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने तय भएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको टोल असोज १३ गते स्वदेश फर्किनेछ ।  


प्रतिक्रिया