राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका प्रकाशन, माघ ११ गते मतदान हुने
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/news/electioncomission12842020092942-1677554526.jpg&w=700&height=600)
मंसिर १५, २०८० | काठमाडौं
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका प्रकाशन गरेको छ । माघ ११ गते हुने निर्वाचनकालागि आयोगले मंसिर २२ गते दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै, राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने आयोगले जनाएको छ ।
पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ । माघ ११ गते भने विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिंदैछ भने पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभामा रिक्त हुने २० सदस्यमध्ये १९ जनाको निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।