रौतहटको विवादले पर्सामा अनिश्चतकालिन कर्फ्यू जारी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/birjung-1708351842.jpg&w=700&height=600)
फाल्गुन ७, २०८० | काठमाडौं
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही स्थानमा आज साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा समेत आज प्रदर्शन भएको हो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, रौतहटको ईशनाथ नगरपालिका–६ र ७ मा गत शनिबार साँझ ५ बजेबाट लगाइएको कफ्र्यु थप चार वटा वडामा बिस्तार गरिएको छ । सो नगरपालिकाको घिउराटोलमा दुई पक्षबीच झडपछिको स्थिति नियन्त्रणमा लिन कफ्र्यु लगाइएकोमा प्रशासनले वडा नम्बर–२, ३, ४ र ५ मा पनि कफ्यु जारी गरेको हो ।
प्रशासनले नगरपालिकाको पूर्वमा बन्जरहा मोड, पश्चिममा सानो घिउरा गाउँ, उत्तरमा रामपुरखापदेखि दक्षिण जमिल अख्तरको बोरिङसम्म र दक्षिणमा एपीएफ बीओपी औरेयादेखि जयनगरसम्म अनिश्चितकालका लागि कफ्र्यु लगाएको छ ।