बालकुमारी घटना सम्वन्धि प्रतिवेदन अझै अध्ययनको क्रममा छः प्रधानमन्त्री दाहाल

फाइल फोटो  

फाल्गुन १२, २०८० | काठमाडौं

प्रतिपक्षी दलहरुले ललितपुरको बालकुमारी घटनामा दोषी मानिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजिनामा मागिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले घटना सम्वन्धि प्रतिवेदन अझै अध्ययनको क्रममा रहेको बताउनुभएको छ ।

गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको घटनामा मन्त्री ज्वाला दोषी भएको भन्दै एमालेसहितका दलले संसदमा विरोध जनाउँदै राजिनामा माग गर्दै आएका छन् । तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पार्टीको संसदीय दलको बैठकमा बोल्दै घटनाको प्रतिवेदन आफूले पाएको र अध्ययन भइरहेको बताउनुभएको हो ।

प्रतिवेदनको अध्ययनपछि सरकारले आवश्यक निर्णय गर्ने उहाँको भनाइ थियो । माओवादी केन्द्रका एक सांसदका अनुसार, बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रीको राजिनामाको बिषयलाई विपक्षी दलले अनावश्यक रुपमा उचाल्न खोजेको बताउनुभएको थियो । सो क्रममा उहाँले विपक्षी दल संसदमा जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने र प्रतिवेदन अनुसार अघि बढ्ने क्षेत्राधिकार सरकारको भएको धारणा राख्नुभएको थियो ।

जाँचबुझ आयोगले गत साता बालकुमारी घटना सम्वन्धि प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन भने मन्त्री ज्वालाले पनि नैतिक जिम्मेवारी लिनुभएको छैन ।

प्रतिपक्षी एमाले र राप्रपाले मन्त्री ज्वालासहित विवादमा परेका अन्य मन्त्रीको राजिनामालाई सदन सञ्चालनका लागि आफ्नो बटम लाइन बनाएका छन् ।

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले समेत संसदमा धारणा राख्नुपर्ने उनीहरुको माग छ । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ । 


प्रतिक्रिया