कोशी, कर्णाली र नारायणी नदीमा डल्फिनको संख्या घट्दो

चैत्र ११, २०८० | काठमाडौं

नेपालमा पाईने स्तन्धारी प्राणीहरु मध्ये डल्फिन प्रजातिको संख्या पछिल्लो समय घट्दै गईरहेको एक अध्यनले देखाएको छ । 

नदीहरुमा डल्फिनको बासस्थान प्रतिकूल हुने गरी भईरहेका मानवीय गतिविधि, व्यारेज तथा ड्याम निर्माण, शहरबाट निस्किएको फोहोर नदीमा मिसाउने, नदी तटीय क्षेत्रमा ढुङ्गाा गिठी उत्खनन् जस्ता कारणले डल्फिन घट्ने क्रममा रहेको बताईन्छ । 

कोशी, कर्णाली र नारायणी नदीमा रहेका डल्फिनहरुको संख्या पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै विज्ञ एवं सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । डल्फिनको संख्या घट्दै गएसँगै यसको संरक्षण गर्न चुनौती बन्दै गएको हो ।

सन् २०११ मा गरिएको एक अध्ययनले नेपालमा डल्फिनको संख्या १ सयको हाराहारीमा रहेको देखाएको थियो । राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१६ मा गरेको पछिल्लो अध्ययन अनुसार भने यो संख्या घटेर ५२ मा झरेको छ । 

कोशी, कर्णाली र नारायणी नदीमा मात्रा पाईने दुर्लभ गङ्गेटिक प्रजातिका सोँस अर्थात डल्फिन पछिल्लो केही वर्षयता निरन्तर घट्दै गएको विभिन्न अध्ययन प्रतिवेदनले औँल्याएको छ । 

मानिस जस्तै चेतनशील प्राणीको रुपमा मानिने डलिफनको शरीर खैरो फुस्रो रङको हुन्छ भने खुटाहरु माछाका पखेटा जस्तो देखिन्छन् । यो प्रजातिका डल्फिन कहिले एक्लै एवं कुनै कुनै समय ३ देखि १० वटा सम्ममा समूहगत रुपमा पनि देख्न सकिने विज्ञहरु बताउँछन् । 

सफा पानीमा बस्न रुचाउने डल्फिनलाई पानीको शुद्धताको सूचकको रुपमा समेत लिइने गरिन्छ । नेपालमा डल्फिनको संख्या घट्दै जादा तत्काल असर नदेखिएपनि भविष्यमा भने मानव जीवन र प्राकृतिक चक्रमा समेत दीर्घकालिन असर गर्न सक्ने संरक्षण विभागका प्रवक्ता वेद कुमार ढकालले बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको अनुसार सप्तकोशी नदीमा गत वर्ष गणना गर्दा १९ वटा डल्फिन देखिएका थिए । स्वच्छ पानीमा रमाउने दुर्लभ जलचर कोशी नदीमा समेत घट्दो क्रममा रहेको कोशी टापुका प्रमुख विरेन्द्र गौतमले बताउनुभयो । 

कोशीमा रहेका डल्फिन त्यहाँको ब्यारेज एवं पुलका ढोकाबाट माथि उक्लिन नसक्दा पर्याप्त रुपमा चलायमान हुन नसकेको गौतमले बताउनुभयो । कोशी तथा गण्डक नदीमा नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएका बाँधका कारण नेपालका डल्फिन दक्षिणी क्षेत्रमा पसेपछि नेपाल फर्किन सक्ने संरचना नहुँदा यसको संख्यामा कमी आएको गौतम बताउँछन् ।

पछिल्लो केही वर्षयता जलवायु परिवर्तनका असरका कारण पानीको वहाव घट्दै जानु, पानीको गुणस्तर खस्किनु, शहरबाट निस्किएको फोहर नदीमा मिसिने लगायत कारणले पनि डल्फिनलाई असर गरेको छ । 

यस्तै, नदी तटीय क्षेत्रमा ढुङ्गाा गिठी उत्खन्न बढ्दै गएकाले डल्फिनको बासस्थान संरक्षण गर्न चुनौती बन्दै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता ढकालले बताउनुभयो । 

मनोराञ्न तथा आन्तरिक पर्यटनको नाउमा खोला, नदी, ताल, तलैयामा आधुनिक डुङ्गाले बाधा पुगेपछि डल्फिन क्रमिक रुपमा घट्दै गएको उहाँको भनाई छ ।

नेपाल र भारतको सिमाना नदीमा निर्माणधीन बाधबाट डल्फिनलाई आवतजावत गर्न सक्ने पूर्वाधारहरुको विकास गर्नुपर्ने डल्फिन विज्ञ शान्तराम ज्ञवालीले बताउनुभयो । सरकारले डल्फिलनको संरक्षण एंम प्रवर्धनका लागि अन्यत्र पहल भन्दा भारतको सिमानामा पर्ने बाँधको समस्या समाधान गर्नुपर्ने ज्ञवालीको भनाई छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपाल भ्रमण गर्ने ६० प्रतिशत पर्यटकले संरिक्षत क्षेत्रको भ्रमण गर्ने गरेको पाईएको छ । आर्थिक वर्ष २०७९÷८० मा स्वदेशी र विदेशी गरी ९ लाख ३२ हजार ५ सय ३२ जनाले संरक्षित क्षेत्रमा भ्रमण गरेका छन् । 

पर्यवरणीय पर्यटनका लागि समेत आर्कषक मानिएको डल्फिन संरक्षित क्षेत्रमा आवश्यक नीतिगत योजना र सरक्षण अभियान चलायन ढिलाई भएको सरोकारवालाले बताएका छन् । 

स्वच्छ पानीमा बस्ने डल्फिनको देश भनेर नेपाललाई चिनाउन सकिने थुप्रै सम्भावना रहेको संरक्षणविदहरुको भनाई छ । नेपाल डल्फिन अध्ययनको समेत केन्द्र बन्न सक्ने उनीहरुले बताएका छन् । 


प्रतिक्रिया