संसद्को चालु अधिवेशन बैशाख २ गतेदेखि अन्त्य हुने

चैत्र ३०, २०८०

संसद्को चालु अधिवेशन बैशाख २ गतेदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैबीच सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सिफारिस समिति गठन गरिएको उहांले बताउनुभयो ।

सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका सदस्य, मानवअधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधिविज्ञान विज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वविद्, शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ ।

यसैबीच बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो । 


प्रतिक्रिया