कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

वैशाख २७, २०८१ | काठमाडौं

कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गरेसँगै उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्कीको आजै शपथ ग्रहण हुने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबी कार्कीले गर्नुभएको थियो । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।

तर विश्वासको मत नलिएको लगायत कारण देखाउँदै अर्को सरकार गठनको प्रक्रिया शुरु गरिएको थियो । यसैबीच, प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गर्नु भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको सरकार भएको र दुई वर्षसम्म कसैले अविश्वासको प्रस्तावसम्म पेस गर्न नसक्ने मुख्यमन्त्री कार्कीले दाबी गर्दै आउनु भएको छ ।


प्रतिक्रिया