तिलोत्तमामा महिलाको पाठेघरको मुखको क्यान्सरको 'स्क्रिनिङ' सुरु

जेष्ठ ७, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर–६ स्थित आनन्दवन स्वास्थ्य चौकीमा निःशुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ सुरु गरेको छ । 

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताउनुभयो । सो स्वास्थ्य चौकीबाट सुरु गरिएको ‘स्क्रिनिङ’ अभियान तिलोत्तमाका मुख्य ६ वटा स्वास्थ्य संस्थामा सञ्चालन हुने शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताउनुभयो । 

पाठेघर निकालेपछि क्यान्सर हुँदैन भन्ने गलत धारणाले धेरै महिलाले पाठेघर फ्याल्ने गरेको उहाँले बताउनुभयो । ‘धेरै जसो ४० वर्षमाथिका महिलालाई क्यान्सर हुने सम्भावना रहन्छ’, उहाँले भन्नुभयो, ‘पाठेघर फालेकालाई पनि क्यान्सर हुने सम्भावना हुन्छ ।’ 

महिलाको स्वास्थ्य अवस्थाका बारेमा प्रारम्भिक जानकारी राख्न तथा भयानक रोगबाट बचाउन ‘स्क्रिनिङ’ शिविर सञ्चालन गरिएको तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले बताउनुभयो । 

नगरपालिकाले विगतमा जस्तै यस वर्षपनि निःशुल्क शिविरको आयोजना गरिएको पाठकले बताउनुभयो । भान्साको खानपानबाटै सुधार गरी सबैले चनाखो भएर रोगसँग लड्ने क्षमता वृद्धि गर्ने खाना र परिकार बनाई प्रयोग गर्न सुझाव दिँदै वडाअध्यक्ष पाठकले रोग लाग्न नदिन समयमै चेकजाँच गर्नुपर्ने समेत बताउनुभयो ।

स्वास्थ्य चौकीमा पहिलो दिन ‘स्क्रिनिङ’ गरिएका १ सय ३५ जना मध्ये ६ जनालाई भीआईए पोजिटिभ, १ जनालाई युटेरस प्रोल्याप्स, १ जनालाई सीए र १४ जनालाई पीआइडी र अन्य १० जनालाई सामान्य लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज राम प्रसाद चुंदालीले जानकारी दिनुभयो ।

उहाँका लक्षण देखिएका बिरामीलाई परामर्श सहित औषधि समेत वितरण गरिएको थियो । कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. वर्षा पौडेल स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक केशव भट्टराई, लक्ष्मी घिमिरे सहितको टिमले महिलाहरुको स्वास्थ्य चेकजाँच तथा उपचार गरी औषधि वितरण गरेको हो । 

सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । पाठेघरको क्यान्सर विश्वमा पाँचौं नम्बरमा र नेपालमा पहिलो नम्बरमा पर्दछ । पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दिनमा चार जनाको मृत्यु हुने गरेको छ । 

महिलामा असुरक्षित यौनसम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । स्त्रीरोग विशेषज्ञ डा वर्षा पौडेलले धेरै महिलाले सुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने गरेको बताउनुभयो । 

महिनावारी नभएको बेला रगत बग्ने, यौन अंगबाट रगतसँगै सेतो पानी आउने, यौन सम्पर्कपछि रगत बग्ने जस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण रहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया