दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

जेष्ठ ७, २०८१ | तनहुँ

तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति पौने १ बजेदेखि लागेको आगो तीन घण्टापछि निभाइएको थियो । 

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । ती सटरमा विभिन्न पसल सञ्चालनमा थिए । आगलागीबाट करीब २० वटा सटर पूर्णरुपमा जलेका छन् । 

आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो । 

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकल र सुरक्षाकर्मीको सहयोगमा बिहान पौने चार बजेतिर आगो निभाइएको प्रहरीले जनाएको छ । 

आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया