सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा दुबै सदनको बैठक अवरुद्ध

वैशाख २८, २०८१

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले आज संसदको दुबै सदनको बैठक अवरुद्ध गरेको छ । संसद्को बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर नियमित कारबाही अघि बढाउन नदिएको हो । 

प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री गगन थापालाई सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्नु भएको थियो । त्यसक्रममा उहाँले संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारबाही अघि बढ्न नदिने घोषणा गर्नुभयो । ढाकछोप गरेको भन्दै उहाँले सरकारले गरीरहेका कामकारबाहीप्रति कांग्रेसको विश्वास नरहेको उल्लेख गर्नुभयो ।

संसदीय छानविन समिति नबनेसम्म सदनका कुनै पनि काम कारबाही अगाडि नबढ्ने र यसको जिम्मेवारी कांग्रेसले नलिने पनि कांग्रेस महामन्त्री थापाको भनाई थियो । गृहमन्त्री रवि लामिछानेका बारेमा अनेक प्रमाण रहेकोमा महान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको थापाले आरोप लगाउनुभयो ।

सदनमा बनेको दृष्यको कारक र कारण नेपाली कांग्रेस नभएको महामन्त्री थापाले बताउनुभयो । थापाले बोलेपछि सभामुखले नियमित कार्यसूचीमा अघि बढ्न खोज्नु भएको थियो । त्यसपछि कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको बैठक पनि कांग्रेसको अवरोधका कारण बस्न सकेन ।

सभामुख देवराज घिमिरेले पटक–पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरु बस्न नमानेपछि बैठक आगामी जेठ १ गते बेलुका ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।  


प्रतिक्रिया